निम्नवर्गका सर्जन

Font size: Decrease font Enlarge font
image
प्लास्टिक सर्जरीलाई निम्नवर्गको पहुँचसम्म पुर्‍याउन दिन-रात खटिएका डा.शंकरमान राईले ओठ काटिएका, अंगभंग भएका, आगोले पोलेका यस्ता हजारौँ बिरामीलाई निःशुल्क प्लास्टिक सर्जरी गरिदिएका छन् ।
स्वास्थ्यकर्मीको उनको पेसा ३० वर्ष पुरानो हो । यो पेसाले तीन दशक पार गरिसकेपछि भने एउटा गोरेटो समातेको छ । अहिले आएर प्लास्टिक सर्जन डा. शंकरमान राई र समाजसेवा पर्याय बनेको छ । नेपालका दुर्गम गाउँबस्तीमा पुगेर स्वास्थ्य सेवामा पहुँच नभएका धेरै गरिब, असहायको उपचारमा व्यस्त छन् उनी । गरिबको उपचार गर्ने वातावरण नभएरै त्रिवि शिक्षण अस्पतालको सुविधासम्पन्न जागिरबाट हात झिके उनले । जन्मजात ओठ फाटेका (खुँडे), तालु फाटेका, जलेर वा कुनै दुर्घटनामा परेर कुरुप र अंगभंग भएका हजारौँ नेपालीको प्लास्टिक सर्जरी गर्छन् उनी । अझ बोली हराएकालाई स्पिच थेरापी पनि गर्छन् । 'सबै नेपाली क्रियाशील र आत्मसम्मानपूर्वक बाँच्न सकून् भन्ने मेरो लक्ष्य हो,' हालैको एक दिउँसो जनस्वास्थ्य सरोकार केन्द्र 'फेक्ट'ले सञ्चालन गरेको काठमाडौं मोडल अस्पतालको प्लास्टिक सर्जरी विभागमा भेटिएका डा.शंकरमान राईले सुनाए, 'यसले बिरामीलाई जीवन सुन्दर छ र यसलाई सुन्दर रूपमा बाँच्नुपर्छ भन्ने सिकाउँछ ।'
बिरामी, गरिबी, दुःख र संवेदनाका बारेमा कुराकानी भइरहँदा डा.शंकरमानको गोलो मंगोलियन अनुहारमा सियाँल छाइरहेको प्रस्ट देखिन्थ्यो । भावुक भएजस्तो भाव अनुहारमा झल्किन्थ्यो । उनी गरिब बिरामीको प्लास्टिक सर्जरी गर्छन्, निःशुल्क । 'खासमा प्लास्टिक सर्जरी तथा रिकन्स्ट्रक्टिभ सर्जरी सेवा त्यति धेरै जटिल पनि होइन,' केही छिनको मौनतापछि उनी सुनाउँछन्, 'तर, यो सेवालाई नेपालभर पुर्‍याउनु चाहिँ गाह्रो काम रहेछ ।' गाउँका गरिब र असहाय बिरामी उपचारका लागि काठमाडौंसम्म धाउन सक्दैनन् । त्यसैले उनको टोली गाउँमै पुगेर निःशुल्क उपचार गर्छ । १० वर्षअघि शंकरमानकै प्रयासबाट 'फेक्ट'सँगको साझेदारी र अमेरिकाको क्यालिफोर्नियास्थित गैरसरकारी संस्था 'इन्टरप्लास्ट'को सहयोगमा काठमाडौं मोडल अस्पतालमा 'इन्टरप्लास्ट सर्जिकल आउटरिच प्रोग्राम' सुरु भएको थियो । यसरी थालिएको यो कार्यक्रमबाट अहिलेसम्म २० हजारभन्दा बढीको निःशुल्क प्लास्टिक सर्जरी भइसकेको छ । उनकै अगुवाइमा अहिले विराटनगर, वीरगन्ज, बुटवल, पोखरा र नेपालगन्जमा पाँचवटा स्थायी उपचार केन्द्र स्थापना गरिएका छन् । अन्य दुर्गम ठाउँमा पनि थुप्रै अस्थायी शिविर र उपचार केन्द्र सञ्चालित छन् । 'यस कार्यक्रममा देशभरि गरिने शल्यक्रियामध्ये ८०-८५ प्रतिशत राजधानीबाहिरकै बिरामी हुन्छन्,' उनी सुनाउँछन् ।
उनले 'हेल्थ असिस्टेन्ट'बाट स्वास्थ्यसेवामा प्रवेश गरेका थिए । अहिले उनको अन्तर्राष्ट्रिय जगतमा विकासोन्मुख राष्ट्रका बालबालिकालाई स्वास्थ्य सेवा दिने 'अब्बल प्लास्टिक सर्जन'का रूपमा ख्याति छ । नेपाल, इक्वेडर, पेरु, भियतनामजस्ता कम विकसित देशका गाउँगाउँमा पुगेर ओठ, छाला फाटिएका वा अरू अंगभंग भएका धेरै बालबालिकाको प्लास्टिक सर्जरी गरी तिनीहरूको 'कुरुप' अनुहारलाई सुन्दर बनाएका छन् उनले । उनै डाक्टरलाई जनस्वास्थ्यमा पुर्‍याएको सेवाको कदर गर्दै सन् २००४ मा अमेरिकी मेडिकल एसोसिएसनले नाथान आर डेभिस अवार्ड प्रदान गर्‍यो । विकासोन्मुख राष्ट्रबाटै यो अवार्ड पाउने उनी पहिलो डाक्टर बने ।
०००
आजको यो दिउँसो काठमाडौं मोडल अस्पतालमा भीडभाड छ । प्लास्टिक सर्जरी विभागमा खटिइरहेका राई पनि व्यस्त छन् । त्यही व्यस्तताका बीच केही समय निकालेर हामीसँग गफिन थालेका डा. शंकरमानले धेरै बेर आफूले 'हेल्थ असिस्टेन्ट'को रूपमा आफ्नो हेल्थ यात्रा थालेको सोलुको सोताङ सम्भिए । सोताङमा त्यतिवेला गरिबी र अशिक्षाको अग्लो पहाड ठडिएको थियो । तिनीहरूका लागि अस्पताल देख्नुमात्रै पनि ठूलो सपना हुन्थ्यो । 'मानिसहरू मलाई डाक्टर नै ठान्थे । सामान्य बिरामी मात्रै होइन, हात गोडा भाँच्चिएका, एकदम जटिल प्रकृतिको सुत्केरी केसहरू पनि आउँथे,' उनी सम्झन्छन्, 'धेरैको उपचार गर्न म घर-घर पुग्थेँ । म सधैँ एउटै प्रार्थना गर्थें-स्वास्थ्यचौकीमा मैले उपचार गर्न नसक्ने बिरामी नआऊन् । किनभने गाउँलेको मप्रति ठूलो विश्वास थियो । तर, उनीहरूको घाउचोटमा सामान्य मलम लगाउनु र औषधि दिनुबाहेक अरू सामथ्र्य मसँग थिएन ।'
उनी चाहँदैनथे कि आफूले उपचार गर्न नसक्ने बिरामी पनि आफूकहाँ आऊन् । तर, त्यस्ता बिरामी बारम्बार आइरहन्थे । ती बिरामीलाई टाढाको अस्पताल जान आर्थिक अवस्थाले साथ दिँदैनथ्यो । 'यस्ता बिरामी आउँदा सुत्केरी अवस्थामै बितेकी मेरी आमालाई सम्भिmन्थेँ । तर, ती बिरामीलाई टाढाकै अस्पताल जानुस् भन्नुबाहेक मसँग अर्का उपाय पनि त थिएन,' पाँच दशक काटिसकेको ढल्कँदो उमेर र त्यसमा पनि निजी र मानवीय प्रसंगले मुजा परेको अनुहार स्वाभाविक पार्दै उनी भन्छन्, 'तर, बिरामीलाई यसो भन्नुपर्दा मन भारी हुन्थ्यो ।' उनलाई यस्तै घटनाले डाक्टर बन्न हौस्यायो ।
खोटाङ, ऐंसेलुखर्कमा लाहुरे परिवारमा जन्मेका राईलाई त्यसपछि सर्जन बन्ने महत्त्वाकांक्षा बढ्यो । उनी त्रिविको मेडिकल क्याम्पसमा भर्ना भए । मेडिकल क्याम्पसमा एमबिबिएस पढिरहँदा त्यतिवेलाका धेरै सिनियर डाक्टर 'हेल्थ असिस्टेन्ट'बाट बनेको डाक्टर राम्रो हुँदैन भन्थे रे । 'काम सिकाउने वेला होच्याउँथे । उनीहरूको बोली-व्यवहारले मलाई वेलावेला दिक्क पनि बनाउँथ्यो,' उनी सम्झन्छन् । तर, यही उत्प्रेरणाले अन्ततः उनी डाक्टर भए । बंलादेशबाट एमएस गरेपछि सन् १९९२ मा सर्जनको रूपमा शिक्षण अस्पतालमा काम सुरु गरे । 'जस्तोसुकै अप्ठेरो आइपरे पनि पार गर्छु भन्ने मनमा लाग्थ्यो,' उनी सम्झन्छन्, 'सायद यो चाहना मनभित्रै मात्र लुकाइराखेको भए म जीवनभर हेल्थ असिस्टेन्टमै सीमित रहन सक्थेँ वा यो पेसा नै छोड्न पनि सक्थेँ । शिक्षण अस्पताल, बंगलादेश र अमेरिकामा अध्ययन गर्दै आज इन्टरप्लास्ट सर्जन बन्दिनथेँ ।' राई सन् १९९९ देखि २००६ सम्म शिक्षण अस्पतालमा कार्यक्रम निर्देशक भए ।
०००
१९९२ मार्च । डा.शंकरमान राईले एउटा दृश्य देेखे, जसले यिनी हिँड्ने बाटो मोडिदियो । 'शिक्षण अस्पतालमा अमेरिकी डाक्टरहरूले गरेको ओठ फाटेको (खुँडे) बच्चाको एउटा अप्रेसन देखेर म चकिए भएको थिएँ,' उनले सुनाए, 'केही बेरमै डाक्टरले बच्चाको अनुहार दुरुस्त बनाइदिए । उसको अनुहार चम्किलो भयो ।' त्यो अप्रेसन अति सामान्यखाले थियो । अन्य सर्जरीमा जस्तो धेरै उपकरण प्रयोग भएका थिएनन् । काम गर्ने टिम पनि सानो थियो । आधा घन्टामै 'कुरुप' बच्चाको अनुहार सुन्दर बन्यो । 'त्यसपछि मैले सोचेँ-सानै प्रयासले पनि कुरुप भनिएको बच्चा सुन्दर बन्न सक्दो रहेछ र उनीहरूको मुहारमा खुसी फर्किंदो रहेछ । मैले पनि उनीहरूको लागि केही गर्नैपर्छ,' उनी सम्झन्छन् ।
कुनै पनि कुरामा तत्काल प्रतिक्रिया जनाइहाल्ने स्वभावका यी खोटांगे डाक्टरले त्यतिवेलै अमेरिकी डाक्टर टेरी न्यापलाई भने, 'मलाई पनि सिकाइदिनुस् यो सर्जरी । मलाई प्लास्टिक सर्जरीमा धेरै रुचि छ ।' टेरी सिकाउन तयार भए । तत्कालै राईले प्लास्टिक सर्जरी सिके । एक सातासम्म उनले न्यापको सहयोगी भएर काम गरे । दुई सातापछि उनी आफैँ प्लास्टिक सर्जरी गर्नसक्ने भए । 'त्यस अवधिमा मैले केही बच्चाको सर्जरी पनि गरेँ,' उनले भने, 'त्यो क्षण मेरो लागि धेरै रोमाञ्चकारी छ ।'
त्यस वेलासम्म पनि नेपालका ठुल्ठूला अस्पतालमा समेत प्लास्टिक सर्जरी सेवा उपलब्ध थिएन । कहिलेकाहीँ अमेरिकी डाक्टर आएर ओठ काटिएका, आगोले पोलेर अंगभंग भएका र जन्मँदै अंगभंग भएकाहरूको उपचार गर्थे । गाउँबाट उपचारका लागि आउने धेरै निराश भएर फर्केको देख्दा राई पनि निराश हुन्थे ।
सन् १९९८ मा डा.राईले क्यालिफोर्नियास्थित साउथ वेस्टर्न मेडिकल सेन्टर पार्कल्यान्ड मेमोरियल हस्पिटलमा छात्रवृत्तिमा पढ्ने मौका पाए । साढे दुई वर्ष अमेरिकामा प्लास्टिक सर्जरी पढिसकेपछि नेपाल आएर उनले शिक्षण अस्पतालको 'बर्निङ युनिट'को काम सम्हाले । प्लास्टिक सर्जरीलाई गरिब जनताको पहुँचसम्म निःशुल्क पुर्‍याउन के गर्न सकिएला भनी राई सोचिरहन्थे । 'प्लास्टिक सर्जरी साह्रै महँगो थियो । गरिबलेे त यसको उपचार गर्नेबारे सोच्न पनि पाउँदैनथे । उनीहरूसम्म कसरी यो उपचार पुर्‍याउने भन्ने ठूलो समस्या हामीसामु थियो,' उनी भन्छन् । त्यसपछि उनले कैलाश श्रेष्ठ, किरण नकर्मीलगायतका डाक्टरलाई प्लास्टिक सर्जरीको प्रशिक्षण दिए । नर्सर्हरूलाई स्पिच थेरापी, काउन्सिलिङलगायत तालिमको व्यवस्था गराए । ओठ फाटेको अप्रेसनपछि फिजियोथेरापी र दाँत उपचारको सीप तालिम पनि दिइयो । यसरी एउटा दक्ष टिम तयार भएको सुनाउँछन् डा'साब ।
इन्टरप्लास्टको सहयोग पाएपछि राईको टिम गरिबहरूको उपचारका लागि गाउँतिर लाग्यो । 'पहिलो शिविर बस्यो, कास्की, पोखरामा । पोखरा आसपासका गाउँबाट ओठ फाटेका, तालु फाटेका, आगोले पोलेका, अंगभंग भएका मान्छेको ओइरो लाग्यो,' उनले सुनाए, 'तल्लो वर्गका मान्छेले उपचार पाउनुपर्छ भन्ने लक्ष्य थियो नै, त्यहीअनुसार उपचार भयोे ।' अर्कोपल्ट यस कार्यक्रमअन्तर्गत विकट जिल्ला ताप्लेजुङ, हुम्ला, रोल्पा, रुकुमलगायतका बिरामी पनि लाभान्वित भए । प्लास्टिक सर्जरीको काम भ्याइनभ्याई हुन थालेपछि डा.राईले सन् २००१ मा शिक्षण अस्पतालको जागिरबाट राजीनामा दिए । 'यस्तो शिविर देशका ६५ जिल्लामा सञ्चालन गरिसकेका छौँ,' उनले सुनाए । 'म सन्तुष्ट छु, गरिबको उपचारबाट,' यति भन्दा साँच्चैको सन्तुष्टि उनको अनुहारमा झल्किन्थ्यो ।
०००
चितवनमा एकजना ओठ फाटेको बच्चा जन्मियो । काठमाडौंमा बस्ने उसको बुबा बच्चा जन्मेेको खबरले घर आए । बाटोमा गाउँलेले 'तेरो छोरा त साह्रै कुरुप जन्मेको छ' भने । यो सहन नसकी उनी घरै नपुगीकन खोलामा हाम्फालेर मरे । शंकरमानको टिमले सर्जरी गरेपछि अहिले त्यस कुरूप भनिएको बच्चा सुन्दर भएको छ ।
चन्द्रनिगाहपुरकी एक आमाले ओठ फाटेको बच्चा पँएपछि परिवारबाट निकै यातना खेप्नुपर्‍यो । आमा र बच्चालाई नै परिवारले जंगलमा फालिदियो । स्थानीयले उनीहरूको उद्धार गरेर सिन्धुलीमा डा. राईको टिमको शिविरमा ल्याए । 'शिविरमा बच्चाको सर्जरी र अन्य उपचार पनि भयो,' उनले सुनाए, 'हाम्रो सानो मिहिनेतले धेरैको मुहारमा खुसी ल्याउन सकिने रहेछ । त्यस घटनाले मेरो आत्मविश्वास झन् बढायो ।'
०००
कुनै जमानाका सामान्य 'हेल्थ असिस्टेन्ट' एक खोटाङे ठिटो अहिले अन्तर्राष्ट्रिय 'स्वास्थ्य हिरो' भएको छ । प्लास्टिक सर्जरीलाई सामान्य वर्गको पहुँचसम्म पुर्‍याउन दिन-रात खटिएका उनले ओठ काटिएका, अंगभंग भएका, आगोले पोलेका यस्ता हजारौँ बिरामीलाई निःशुल्क प्लास्टिक सर्जरी गरिदिएका छन्, जसले धेरैको अनुहारमा हराएको खुसी फर्किएको छ । उनले थालेको यो स्वास्थ्य-अभियान साँच्चै निम्नवर्गका लागि वरदान साबित भएको छ ।
प्लास्टिक सर्जरी गर्न सिक्दै गर्दा उनलाई यसको महत्त्वबारे थाहा थिएन रे । 'मेरो यही खुल्दुलीले धेरैको जीवनमा नयाँ बहार आएको छ,' उनले भने । उनको सर्जरीले धेरै बालबच्चामा हीनताबोध हटेको छ, आत्मविश्वास पलाएको छ । वर्षौंदेखि आगोले डढेर बिगि्रएका धेरैका हातखुट्टा सद्धे भएका छन् र उनीहरू हिँड्न सक्ने भएका छन् । धेरैको जीवनमा नयाँ वसन्त आएको छ । धन्यवाद डाक्टर सा'ब ।
Share this article :
 

Post a Comment

 
Support : - All Rights Reserved