सत्ताधारी दलहरुको विरोधका बावजुद एकिकृत
नेकपा माओवादीले बिहिवार पूर्वी नेपालमा दुईवटा स्वायत्त गणराज्यहरु घोषणा गरेको
छ।
पुर्वी पहाडी जिल्ला तेह्रथुममा लिम्बुवान र झापामा कोचिला स्वायत्त गणराज्य घोषणा गरिएको हो।
पूर्वका पाँचवटा पहाडी जिल्लाहरु ताप्लेजुङ, पाँचथर, इलाम, तेह्रथुम तथा धनकुटालाई माओवादीले लिम्बुवान र झापा, मोरङ र सुनसरीलाई कोचिला राज्य भन्दै आएको छ।
'विजय'
झापाको विर्तामोडमा आयोजित सभामा एकिकृत नेकपा माओवादीका स्थायी कमिटि सदस्य नेत्र विक्रम चन्द विप्लवले कोचिला स्वायत्त गणराज्यको उद्घाटन गरेका थिए।
घोषणासभामा माओवादी स्थायी कमिटि सदस्य विप्लवले नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रमा विधिवत् प्रवेश गरेको उल्लेख गर्दै, त्यो नेपाली जनताको विजय भएको बताए।
उनले गणराज्य घोषणासभा युद्धका लागि नभइ शान्तिका लागि भएकोमा जोड दिए।
विप्लवले भने, "कोचिला स्वायत्त गणराज्य विदेशी कठपुतली सरकारको होइन, नेपाली जनताको पक्षमा घोषणा गरिएको हो।"
गम्भिर चिन्ता
झापाको विर्तामोडमैं संघीय लिम्बुवान राज्य परिषदले पूर्वी नेपालका नौवटा जिल्लालाई लिम्बुवान राज्य घोषणाको माग गर्दै आमसभाको आयोजना गरेको थियो।
त्यहाँ संभावित झडपलाई ध्यानमा राखेर सुरक्षा व्यवस्था कडा पारिएको थियो।
माओवादीले भने कार्यक्रम स्थललाई सुरक्षा दिन १,५०० वाइसीएल परिचालन गरेको थियो।
बिहिवार प्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रपति डा. रामवरण यादवलाई राष्ट्रपति भवन शितल निवासमा भेट गर्दा दुबैले माओवादीबाट भएको गणराज्य घोषणाका बारेमा गम्भिर चिन्ता व्यक्त गरेका थिए।
Post a Comment